उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

१२ जेठ ०७६, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उपराष्ट्रपति पुन जेठ १४ गते राजधानी भियनामा सुरु हुने जलवायुसम्बन्धी आर–२० विश्व सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अष्ट्रिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत छन् ।

भ्रमणका क्रममा उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर–२० विश्व सम्मेलनमा सहभागी भई नसम्बोधन गर्ने कार्यक्रम छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गरेका थिए ।

उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गरेको थियो ।

तपाइको मत