उर्जा क्षेत्रमा हाई–हाई कमाएका उर्जामन्त्री, अर्घाखाँचीमा बाई बाई !
२८ पुस, अर्घाखाँची । बिहीबारदेखि अर्घाखाँचीमा सुरु भएको अर्घाखाँची महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न पुगेका उर्जामन्त्री जर्नादन शर्मा स्थानीयको अवरोधपछि सम्बोधनै नगरिकन काठमाडौं फर्किएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले कार्यक्रममा बोल्ने क्रममा ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेपछि कार्यक्रम बिथोलिएकाले प्रमुख अतिथि उर्जामन्त्री शर्मा सम्बोधननै नगरी काठमाडौं फर्किएका हुन् ।
‘देश टुक्रिन भएन’ कार्यक्रममा बोल्ने क्रममा नेता आचार्यले भनेका थिए, ‘५ नम्बर प्रदेश टुक्रिँदैमा देश टुक्रिँदैन ।’ आचार्यको सम्बोधनकै क्रममा मञ्चमै ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेपछि महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।
स्थानीयको नाराबाजी र ढुंगामुढापछि ऊर्जामन्त्री शर्मालाई प्रहरीले स्कर्टिंग गरेर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो ।
माओवादी नेता डिलाराम आचार्यले आफूले बोलेका शब्दहरु फिर्ता लिएको र आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लाबासीहरुसँग माफी मागेपछि भीड नियन्त्रणमा आएको थियो ।
यस्तै कृत्य नगरी तिम्रो परिचय कसरी खुल्छ ?
यस घटनालाई लिएर रविकिरण यादवले सामाजिक सञ्जालमा “कथित् राष्ट्रवादीहरुको सार, बिजुली ल्याउनेलाई ढुङ्गा प्रहार” भनी कटाक्ष गरेका छन् भने रमेश मल्लले ‘उज्यालो नेपाल अभियानका कुशल अभियान्ता अर्घाखाँचीमा एमालेको ढुङ्गा आक्रमणमा पर्नु भएछ’ भन्दै ‘स्यावास कमरेडहरु ! यस्तै कृत्य नगरी तिम्रो परिचय कसरी खुल्छ ? भनी व्यङ्ग्य गरेका छन् ।