ऋषिङ गाउँपालिका घटनामा काँग्रेसको अतिरञ्जित प्रचार – नेकपा तनहुँ (भिडियोसहित)

१३ असोज ०७६, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले ऋषिङ गाउँपालिका घटनालाई काँग्रेसले अतिरञ्जित गरेर प्रचार गरेको भन्दै खण्डन गरेको छ ।

नेकपा तनहुँले आइतबारको घटनाको सम्बन्धमा काँग्रेस जिल्ला पार्टीले भ्रमपूर्ण र अतिरञ्जित वक्तव्य जारी गरेको भन्दै पत्रकार सम्मेलन गरेर सोको खण्डन गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्र, प्रदेश र जिल्ला नेताहरू ।

जनभावना विपरीत ऋषिङ गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरिएको हुँदा सो भवनको शिलान्यास नगर्न स्थानीयले नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई अनुरोध गरेको विषयलाई काँग्रेसले पूरै ढाकछोप गरेर नेता रिजालमाथि नेकपाका कार्यकर्ताले ढुङ्गामुढा र आक्रमण गरेको भनी लगाएको आरोप कपोलकल्पित र भ्रामक रहेको नेकपाले जनाएको छ ।

नेकपाका जिल्ला सचिव राजेन्द्र केशरी न्यौपानेले पत्रकार सम्मेलनमा भने, ‘आम जनताको भावनालाई कुल्चँदै जबरजस्ती पालिका भवन शिलान्यासको लागि गएको काँग्रेस नेतालाई स्थानीयले अनुरोध गरेको विषयलाई आक्रमण नै गरेको भन्ने दाबी पूरै असत्य छ ।’

शिलान्यास कार्यक्रमको विरोधमा संघर्ष समितिले ऋषिङ बन्द कार्यक्रम आयोजना गरेको अवस्थामा सो बन्दको अवज्ञा नगर्न र विवादका बिच भवन शिलान्यास नगर्न अनुरोध गरिएको तर नेता रिजालले कुनै हालतमा भवन शिलान्यास गरेरै छाड्ने बालहठ देखाएको सचिव न्यौपानेले बताए ।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य अतिन्द्र केशरी न्यौपाने, जिल्ला सदस्य श्रीप्रसाद श्रेष्ठ, हरिराज कंडेल, कार्यालय सचिव राजेश्वर ढकाल, नेकपा ऋषिङ गाउँपालिका कमिटीका अध्यक्ष गन्जसिंह गुरुङ र ऋषिङ गाउँपालिका केन्द्र सरोकार संयुक्त संघर्ष समितिका संयोजक भुपाल थापा लगायतका नेताको सहभागिता रहेको थियो ।

उनीहरूले विगतको सहमति साथै २०७३ फागुन २७ गते राजपत्रमा प्रकाशित सूचना विपरीत गाउँपालिका केन्द्र सार्ने एकतर्फी निर्णय गरिएको भन्दै काँग्रेसको सर्वसत्तावादी र निरंकुश चरित्र उदाङ्गिएको सो अवसरमा बताए ।

नेकपाले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर स्थानीय तह पुनर्संरचना आयोगको निर्देशन अनुसार २०७३ भदौ १५ गते सर्वदलीय संयन्त्रले गरेको सिफारिस र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको निर्णयअनुसार सो गाउँपालिकाको केन्द्र ढुङ्गागाडे नै रहने सर्वसम्मत भएको निर्णय, तथ्यलाई नेपाली काँग्रेसले लत्याएको आरोप लगाएको छ ।

गाउँपालिकाको नेतृत्वले आम जनसमुदायको भावना विपरीत एकतर्फीरुपमा पोखरीभञ्ज्याङ केन्द्र राख्ने निर्णय गरेदेखि नै त्यसकाविरुद्ध स्थानीय जनता आन्दोलित रहेको र जनताको न्यायपूर्ण आन्दोलनमा नेकपाले समर्थन जनाएको जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न हिँडेका काँग्रेसका नेता डा.मिनेन्द्र रिजाल र बन्दमा सहभागी स्थानीय बीच संवाद (भिडियोसहित)

तपाइको मत