३१ बैशाख ०७७, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले नेपालको एक इन्च भूमिको रक्षाका लागि मर्न तयार रहेको बताएका छन् ।
लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरी भारत–चीन व्यापारिक नाका उद्घाटन गरेपछि सिर्जित सीमा विवादबारे बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।
“हाम्रो स्पष्ट धारणा छ, नेपालको एक इन्च भूमिको लागि हामी मर्न तयार छौं,” उनले भने, “सार्वभौम राष्ट्रको स्वाभिमानी नागरिक हामी पनि हौं । हामीलाई शंकाको दृष्टिले नहेरियोस् ।”
सांसद यादवले कोशी, गण्डकी, महाकली, टनकपुर सम्झौता दौरा सुरुवाल र टोपी लगाउनेले गरेको भन्दै धोती, कुर्था, गम्छा लगाउनेलाई आशंका नगर्न सुझाएका छन् ।
“यहाँ कोशी, गण्डकी, महाकली, टनकपुर जति सम्झौता भएका छन् त्यो कुनै धोती कुर्था गम्छा लगाउनेले गरेका छैनन् त्यो सबै दौरा सुरुवाल र टोपी लगाउनेले गरेका हुन्, सांसद यादवले भनेका छन्, “अहिले पनि त्यो सडक बनिरहेको छ । हाम्रो प्रधानमन्त्रीजीलाई थाहा थिएन रे ! जे जे नोट दिनुपर्ने थियो, त्यो समयमै उठाउनु पथ्र्यो, रोक्नुपथ्र्यो, विरोध गर्नु पर्दथ्यो; यो त, म कुटे जस्तो गर्छु तिमी रोए जस्तो गर्नु भन्ने उखान चरितार्थ भइरहेको छ ।”