२७ असोज ०७६, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एकैदिन दुई पटक पत्रकार सम्मेलन गरेको छ ।
उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी लगायतले केहीबेर नपर्खिएर पत्रकार सम्मेलन गरेको भन्दै असन्तुष्ट बनेका अध्यक्ष भवन भट्टले आफ्नो अनुपस्थितिमा भएको पत्रकार सम्मेलनको एक घण्टा नबित्दै पत्रकार सम्मेलन गरेका हुन् ।
आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै अध्यक्ष भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको हो ।
सोमबार बालुवाटारस्थित कार्यालयमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए ।
उक्त पत्रकार सम्मेलनको औपचारिकरुपमै समापन भएर अधिकांश पत्रकारहरू बाहिरिसकेको र केहीले खाजा खाइरहेको बेला आइपुगेका अध्यक्ष भट्टले पत्रकारहरुको अध्यक्षसँग केही जिज्ञासा हुनसक्ने भन्दै पुनः पत्रकार सम्मेलन गरेको बताए ।
भोलिदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ ।
महासचिव बद्री केसीले पत्रकार सम्मेलनमा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी पूरा भएको र विभिन्न देशबाट आएका १३ सय प्रतिनिधिहरूले नाम दर्ता गरिसकेको जानकारी दिए ।
आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । महासचिव पदमा डा. केशव पौडेलले उम्मेदवारी दिने भएका छन् ।
नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।
सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको बताइएको छ । सम्मेलनमा ८१ राष्ट्रबाट करिब २५ सय जना प्रतिनिधिसहित सहभागी हुनेछन् ।
सम्मेलनबाट विभिन्न १४ पदमा ४२ जना चुनिने छन् ।














