२५ माघ ०७९, काठमाडौं । सरकारले ‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका तीन ठूला अस्पताल (वीर अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पताल)मा फागुनदेखि ‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्न लागेको हो ।
‘एक चिकित्सक र स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा फागुनदेखि कार्यक्रम सञ्चालनमा आउनेछ ।’ सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
सरकारले यसअघि आर्थिक वर्ष २०७७÷७८ मा पनि ‘एक चिकित्सक एक स्वास्थ्यसंस्था’ कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले सो कार्यक्रम लागू गर्न अस्पतालहरुमा पत्राचार गरेसँगै स्वास्थ्य क्षेत्रका विभिन्न संघ संगठन, चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध जनाएका थिए ।
कार्यविधिअनुसार यो कार्यक्रम लागू भएको अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अरु अस्पतालमा काम गर्न पाउने छैनन् ।