६ पुस, काठमाडौं । काठमाडौं भित्राउन लागिएको एक हजार चार सय ३१ थान लागूऔषधसहित एक व्यक्तिलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।
बिराटनगरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३१९० नम्बरको यात्रुबस जाँच गर्ने क्रममा सिराह लाहान-२ का १८ वर्षीय राकेश सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध चरेस १ सय एमएलको ५१ बोतल, नाइट्रोजन ट्याबलेट १ सय ८० थान, नाइट्रोजोपाम ट्याबलेट ६ सय थान, फेनारगन २ सय एम्पल, बाइजोल्याब २ सय एम्पल, लुफिजोसिक २ सय एम्पल गरी जम्मा १ हजार ४ सय ३१ थान लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी पर्साको बीरगन्ज उपमहानगरपालिका-१९ रजतजयन्ती चोकबाट काठमाडौं-३५ कोटेश्वर बस्ने १७ वर्षीय सुमन कटुवाल र १७ वर्षीय प्रतिक अधिकारी पनि लागूऔषधसहित बुधबार पक्राउ परेका छन् । उनीहरुको साथबाट डाइजेपाम ५८ पिस, बुफ्रिनफिर्न ५८ पिस, फेनारगन ५८ पिस र सिरिन्ज २ पिस बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको बिराटनगर-२१ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट भारततर्फ पैदल जाँदै गरेका कोलकत्ता भारत बस्ने ३५ वर्षीय शेख रियाजलाई अबैध लागूऔषध चरेस ३ किलोसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच रसुवाको टिमुरे-१ स्थित रसुवागढी नाकामा चीनबाट नेपालतर्फ आउँदै गरेको बा ६८ प ७४५४ नम्बरको मोटरसाइकलको यएर फिल्टरमा लुकाई ल्याएको सुनजस्तो देखिने पहेलो धातु १/१ केजीको पाँच थानसहित गत्लाङ-२ बस्ने २८ वर्षीय बिरेन लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।