१० मंसिर, काठमाडौँ । नेकपा एमालेका मधेशी सांसदहरु संविधान संशोधनको पक्ष र विपक्षमा उभिँदा पार्टीमा पहिरो जाने संकेत देखिएको छ ।
एमालेले संविधान संशोधन अस्वीकार गरेपछि एमालेका मधेशी नेता तथा सांसदहरु संविधान संशोधनको पक्ष र विपक्षमा उभिएका हुन् ।
एमालेका मधेशी सांसदहरु सिरहाकी आशा यादव, सर्लाहीकी कमला देवी महतो, दुलारी देवी, पर्साका नागेन्द्र प्रसाद थारु, राजकुमार गुप्ता, जयप्रकाश थारु, र पर्साकै जुनैद अन्सारी, बाराका बलराम प्रसाद चौधरी, धनुषाका रामअवतार पासवान, महोत्तरीका दिपनारायण साह, सिरहाका रामचन्द्र यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल, सप्तरीका सत्यनारायण मण्डललगायतकाले पार्टीको निर्णय विपरीत संशोधनको पक्षमा छन् ।
स्रोतकाअनुसार सत्रुघन महतोसहितका नेताहरुले सांसदहरुको नेतृत्व गर्दैछन् । तर, रंजु कुमारी झा, बंशीधर मिश्र, धनुषाका शितल झालगायतका केही सांसदहरु एमालेले गरेको निर्णयको पक्षमा देखिएका छन् ।
संविधान संशोधनमा पार्टीले साथ नदिए मधेशमा राजनीतिक गर्न नसकिने निष्कर्ष निकाल्दै मधेशी नेताहरुले पार्टीबाट विद्रोह गर्न सकिने बताएका छन् ।
बुधबार काठमाडौंमा उपलब्ध संविधान संशोधनको पक्षमा हुने एमालेका मधेशी नेता तथा सांसदले छुट्टै भेला गरी पार्टी संशोधनमा सहभागी नभए विद्रोह गर्ने निष्कर्ष निकालेका छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघन महतोले पार्टीलाई संशोधनमा सहभागी हुन दबाब दिइरहेको बताए ।
छलफलपछि बुधबार नै महतोकै नेतृत्वमा पार्टी महासचिव ईश्वर पोखरेललाई भेटेर मधेशी जनताका जायज माग सम्बोधन गर्ने गरी संविधान संशोधनमा पार्टीलाई सहभागी हुन आग्रह गरेको भए पनि पोखरेलले मधेशी सांसद तथा नेताहरुलाई संशोधनको विषयमा पैरवी नगर्न भन्दै हप्काएर पठाएका थिए ।
यद्यपि, महतोले संशोधन प्रस्ताव संसदमा दर्ता भए आफूहरूले स्पष्ट अडान लिने बताए । स्रोत भन्छ, ‘संविधान संशोधन लगायत विषयमा छलफल गर्न दुई नम्बर प्रदेशका मधेशी मूलका सांसदहरुले प्रदेश पाटीृ नेताको बैठक १३ र १४ गगते सर्लाहीको हरिवनमा गर्ने तय भएको छ ।’