५ मंसिर, काठमाडौं । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधनमा सहमति जुटाउने प्रयास गरिरहेका बेला एमालेले पनि संशोधनमा संविधान संशोधन गरेर नागरिकतासम्वन्धी व्यवस्थालाई अझ कडा बनाउनु पर्ने बताएको छ ।
एमालेले नागरिकतासम्वन्धी अहिलेको व्यवस्था अत्यन्त खुकुलो भएको भन्दै अंगीकृत नागरिकलाई लगाइएको बन्देज कडा बनाउन र विदेशी महिलासँग बिहे गर्ने पुरुषलाई समेत निश्चित बन्देज लगाउनु पर्ने बताएको छ ।
संविधानको धारा ११ को उपधारा ७ अनुसार नेपाली पुरुषसँग विवाह गर्ने महिलाले तत्काल अंगीकृत नागरिकता लिन सक्नेछन् । नेपाली महिलासँग बिहे गर्ने पुरुषले नेपाली नागरिकता पाउन सक्दैनन्, यसलाई केही महिला अधिकारवादीले विभेद भन्ने गरेका छन् ।
तर, एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘विवाह भएको २४ घन्टाभित्र वैवाहिक दर्ता हुने, त्यसको २४ घन्टाभित्र नाागरिकता पाउने र त्यसको २४ घन्टाभित्र मन्त्री पनि हुन सक्ने । यस्तो दुनियाँमा कहीँ छैन । यो धेरै लचिलो भयो, यसलाई कडा बनाउनुपर्छ । कसरी गर्ने भनेर छलफल गरौं ।’
संविधानको धारा २८९ मा राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख ९ पदमा वंशजको नागरिकमात्र योग्य हुने व्यवस्था छ । यसको मधेस केन्द्रित राजनीतिक दलहरुले विरोध गर्दै आएका छन् र उनीहरुको असन्तुष्टि सम्बोधनका लागि सरकारले यो सूचीलाई घटाएर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकायका प्रमुख गरी चार पदमा झार्ने गरी संविधान संशोधन विधेयक तयार गर्दैछ ।
तर, एमालेले भने यो सूची बढाउनु पर्ने बताएको छ । एमाले सचिव ज्ञवालीले भने, ‘सुरक्षा प्रमुख हुन नपाउने तर, गृहमन्त्री हुन पाउने जस्तो छ । त्यसैले यो बन्देजको दायरा बढाऔं भनेर हाम्रो अध्यक्षले भन्नु भएको हो ।’
यसैगरी एमालेले विदेशी महिलासँग विवाह गर्ने नेपाली पुरुषको हकमा पनि सोच्नु पर्ने प्रस्ताव अघि सारेको छ । ‘यदि वैवाहिक अंगीकृत महिलाको हकमा मात्र कडा भयो भन्ने हो भने जसले विदेशी महिला विवाह गर्छन्, त्यस्ता पुरुषकै हकमा निश्चित बञ्देज वा परीक्षण अवधि राखौं, एमाले सचिव ज्ञवालीले भने, अरु पार्टीहरु यो सुन्न पनि तयार छैनन् । किनभने, भएको व्यवस्था नै भत्काउन चाहन्छन् । तर, हामीले सोचविचार गरेर भनेका हौं ।’