२१ भदौ ०७४, काठमाडौं । एमालेबाट निर्वाचित मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १० वडाध्यक्षले बुधबारका लागि बोलाइएको काठमाडौं महानगरपालिकाको बैठक बहिस्कार गरेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले महानगरमा एकलौटी निर्णय गर्ने गरेकाले कार्यपालिका बैठक नै बहिस्कार गरेको उपमेयर हरिप्रभा खड्गीले बताएइन् ।
‘हामीलाई कहिल्यै कार्यपालिका बैठकमा के एजेन्डा छ भनेर भनिँदैन । मैले यो प्रवृत्तिको विरोध गर्दै आएको छु’ उपमेयर शाक्यले भनिन्, ‘कार्यपालिका बस्नुभन्दा २४ घण्टा अघि के–के एजेण्डामा छलफल हुने भन्ने थाहा दिनुपर्छ भनेर पटक–पटक भन्यौं । तर, मेयरसा’बले मान्नु भएन ।’
बुधबार विहान बोलाइएको बैठकको पनि एजेण्डा नपाएपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बैठक नै बहिस्कार गरेका हुन् । बहिस्कारका बीच बसेका बैठकले १०० दिनको कामको समीक्षा गरेको छ ।
मेयर शाक्यले आफ्नो १०० दिनको कामबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन समेत गर्दैछन् ।
मोबाइल बाँड्ने र फिर्ता लिनेसम्म महत्वपूर्ण निर्णय गर्दा आफूहरुलाई गुमराहमा राखेको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको उपमेयर खड्गीले बताइन् ।
मेयर शाक्यले भने हरेक बैठक बस्दा एजेण्डा दिएको र उपमेयरले दिएको एजेण्डा समावेश गरेर अघि बढेको दाबी गरे ।
मेयर शाक्यले बिहीबारका पनि कार्यपालिका बैठक बोलाएका छन् । र, बैठकको एजण्डा जानकारी गराउँदै पत्र लेखेका छन् ।
यससँगै बिहीबारको बैठकमा खड्गी समूह सहभागी हुन तयार भएको छ ।