१५ भदौ ०७४, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले एमालेमाथि अवरोध कायमै राखे त्यस्ता स्थानीय तहको निर्वाचन स्थगित गर्ने चेतावनी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सरकार र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेतालाई यसबारे सचेत गराइसकेको बताएका छन् ।
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहहरुमा आयोजना गरेका निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा राजपा नेपालका कार्यकर्ताले अवरोध जारी राखेपछि आयोग गम्भीर भएको हो ।
मंगलबारमात्रै जनकपुरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका एमाले नेता माधवकुमार नेपालमाथि आक्रमण प्रयास भएको थियो ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादवले माधव नेपालमाथिको आक्रमण र एमालेका कार्यक्रममा भइरहेको अवरोधबारे निर्वाचन आयोग गम्भीर बनेको र आफूले राजपाका केही नेतासँग पनि कुरा गरिसकेको र सरकारलाई पनि यसबारेमा गम्भीरतापूर्वक सचेत गराइएको बताए ।