३ साउन ०७४, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालन सम्बन्धी प्रशिक्षण दिने कार्यविधि तय गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय गरेको हो ।
एमालेले जनप्रतिनिधिलाई तालिम प्रदेश नम्बर ७ बाट शुरु गर्ने भएको छ । ७ नम्बर प्रदेशमा साउन ७ र ८ गते तालिम आयोजना गर्ने भएको हो ।
प्रदेश नम्बर १ मा साउन २१ र २२, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।
अभिमूखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । तर, प्रमुख नजितेका ठाउँबाट उपप्रमुख र बष्ठितम वडाध्यक्षलाई सहभागी गराइने छ । प्रमुख र उपप्रमुख नजितेका स्थानीय तहबाट दुई वडाध्यक्ष सहभागी हुनेछ । साथै पार्टीका जिल्ला अध्यक्षहरु, स्थानीय निकाय बिभागका प्रमुखहरु, पार्टीका जिल्ला इन्चार्जहरु र सम्बन्धित प्रदेशका सांसदहरु पनि कार्यक्रममा सहभागी हुनेछन् ।
त्यस्तै कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्ध लगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेले जनाएको छ ।
सबै कार्यक्रमको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीहरुले गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।