एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

२० असार ०८०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा मागेको छ ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभमा गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले बोलेको विषयलाई लिएर राजीनामा मागेका हुन् ।

सांसद पन्तले भने, ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

यस्तै राष्ट्रियसभाको बैठकमा समेत एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

गत सोमबार सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी मन्तव्य राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आपत्ति जनाएका छन् ।

यद्यपि, यस विषयलाई प्रधानमन्त्री प्रचण्डले संसदबाट पास हुने चरणका रहेको मिटरब्याजीलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्ष दलले आफूले बोल्दै नबोलेको कुरालाई लिएर संसद अवरुद्ध गरेको बताएका छन् ।