एमालेसँग राजेन्द्र महतोको आग्रह : मधेश विरोधी रवैया छाडेर मधेशीलाई अधिकार दिलाउन अगाडि आउनु

Rajendra-mahato

२९ फागुन, राजविराज । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेशलाई चिढाउने काम बन्द गरी संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न एमालेसँग आग्रह गरेका छन् ।

आइतबार प्रेस मञ्च सप्तरीद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न एमालेसँग आग्रह गरेका हुन् ।

‘मधेश विरोधी रवैया छाड्नुस, मधेशीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनु’ एमालेसँग आग्रह गर्दै महतोले भने, “अन्यथा मधेशमा एमालेप्रतिको आक्रोश र बितृष्णा झन् बढ्दै जानेछ ।’

आन्दोलन केही दिनमै पुनः सुरु
चाडपर्वलाई ध्यानमा राखेर स्थगित गरिएको आन्दोलन केही दिनमै पुनः सुरु हुने बताएका छन् ।

उनले अबको आन्दोलन विगतको भन्दा कठोर हुने र यसका लागि हजारौं मधेशी युवाहरु शहादत दिन तयार रहेको बताए ।

उनले तीन ठूला दलले मुलुकमा थप संकट आउन नदिन समयै समस्या समाधानका लागि पहल गर्नु पर्नेमा जोड पनि दिए ।

‘एमालेमुक्त मधेश’ नारा मधेशमा यसअघि नै लगाइएको बताउँदै महतोले यो नारालाई आगोको संज्ञा दिदैं आगोमा घ्यू थप्ने काम स्वयं एमालेले गरेको बताए ।

यसैगरी सरकारले सात दिने अल्टिमेटमको गम्भीरतालाई बुझ्न सकेन भने मधेशमा आन्दोलनको आँधीबेरी सृजना हुने बताउँदै महतोले भने, ‘पाँच जना शहीद भएको घट्नाको मूल दोषी नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी ओली हुन् ।’

सरकारले गराउन लागेको निर्वाचनप्रति संकेत गर्दै उनले आन्दोलनको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने बताए । साथै, उनले संविधान संशोधन नगरी गराइने चुनावले अर्काे महाभारत निम्त्याउने दावी गर्दै संविधानमा त्रुटि गर्नेहरुले नै दुई तिहाई पु¥याई संविधान सच्याउनु पर्ने बताए ।

मृतक परिवारलाई सदभावना एक लाख २५ हजार सहयोग
एमालेको मेची महाकाली राष्ट्रिय अभियानको विरोधका क्रममा गत सोमबार प्रहरीको गोली लागि मृत्यु भएका पाँचै जनाको घर पुगी आइतबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शोक सन्तप्त परिवारलाई भेटेका छन् ।

उनले पार्टीका तर्फबाट मृतक परिवारलाई जनही २५ हजारका दरले सहयोग पनि वितरण गरे । शोक सन्तप्त परिवारलाई धैर्यता राख्न र हौसला बढाउदै मधेश आन्दोलनका क्रममा प्रहरीद्वारा मारिएकाहरुको बलिदान खेर नजाने बताए ।

तपाइको मत