१२ माघ, काठमाडौं । विद्युत चोरी गरेको आरोपमा पक्राउ परेका विद्युत प्राधिकरणका कर्मचारीमध्ये केही नेकपा एमाले र कांग्रेसनिकटका कर्मचारी नेताहरु परेका छन् ।
प्राधिकरण डुबाएको अपराधमा समातिएका रत्नपार्कका मिटर रिडर मनिज श्रेष्ठ नेपाली कांग्रेसनिकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष रहेको खुलेको छ । त्यसैगरी लगनखेल वितरण केन्द्रका मिटर रिडिङ सुपरभाइजर सूर्यबहादुर थापा एमालेनिकट कर्मचारी युनियनका इकाइ अध्यक्ष र अर्का कर्मचारी महादेव प्रधान पनि एमालेनिकट कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार रहेको खुलेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले करिब १३ अर्ब रुपैंयाँ बराबरको विद्युत् चोरीमा संलग्न भएको पाएपछि नेपाली काँग्रेस र एमाले निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ गरेपछि त्यसैलाई निहुँ बनाएर काँग्रेस र एमाले निकटका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् ।
प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरुले आन्दोलनको धम्की दिदै बुधबार प्राधिकरणको केन्द्रीय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् ।
विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो ।
कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए ।
प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कार्यालयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दोलनको बाहाना बनाएका छन् ।
प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसीरहन मिल्दैन । तर, चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् ।
चोरीलाई संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ ।
ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् ।
उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोपमा पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो ।
दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।
उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दुई दिन अगाडि सिवम् सिमेन्टको लाइन काटेको र दुई दिन पछाडि २५ लाख घुस लिएर लाइन जोडिदिएका थिए । त्यतिखेर समेत प्रधानको संलग्ननता रहेको थियो ।
उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ ।
सिभम सिमेन्टलाई दिइएको डेडिकेडेट फिडर बाट २० घन्टा विद्युत् दिदा प्राधिकरणले रु १३ करोड आम्दानी गर्दथ्यो । तर, सो उद्योगलाई १९ घन्टा फाइल स्वीकृत गराएर २४ घन्टा नै विद्युत् दिई बिल भने रु ६ करोडको मात्रै उठ्ने बनाएका थिए । त्यसमा प्रधानको योजनाले काम गरेको बताइन्छ ।
१६ जनामाथि चोरी ठगी मुद्दा
यसैवीच उद्योगहरुसँग मिलेर बिजुलीको मिटर उल्टो घुमाउने र कम महसुल देखाएर सरकारलाई ठग्ने काममा संलग्न भएको भन्दै पक्राउ परेका कर्मचारी र व्यापारीहरुलाई नेपाल प्रहरीको अपराध महाशाखाले चोरी र ठगी मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको छ ।
आइतबार पक्राउ गरेका बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्वमेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधानमाथि चोरी एवं ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
फौजदारी मुद्दा लाग्ने १६ जनामा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन् । प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरी मुद्दा चलाइएको छ । त्यस्तै प्रहरीले ब्यापारी कुमार लामा, रमेश चुडाल र भारतीय नागरिकद्वय तपन घोष र परवेज आलमलाई पनि मुद्दा चलाएको छ ।
उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तिमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।