एमाले २ नम्बर प्रदेश कार्यकर्ताको नेतृत्वलाई सुझाव : संविधान संशोधनलाई समर्थन गर्नु

१७ चैत, काठमाडौं । नेकपा एमालेका २ नम्बर प्रदेशका कार्यकर्ताहरुले राष्ट्रियसभाको प्रतिनिधित्व जनसंख्याकै आधारमा हुनुपर्ने गरी संविधान संशोधनलाई समर्थन गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

बुधबार र बिहीबार महोत्तरीमा आयोजना गरिएको दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ताको अगुवा भेलामा सहभागी प्रदेशका नेताहरुले संविधान संशोधन विधेयकमा पार्टीले लिएको अडानका बारेमा यस्तो सुझाव दिएका हुन् ।

सीमांकन हेरफेर, भाषा र नागरिकताको सवालमा पार्टीले लिएको नीति सही भए पनि राष्ट्रियसभाको प्रतिनिधित्व भने जनसंख्याकै आधारमा हुनुपर्ने एमालेका मधेसी नेता कार्यकर्ताहरुले सुझाव दिएको बैठकमा सहभागी नेताले बताए ।

एमालेले राष्ट्रियसभामा प्रदेशहरुबाट समान संख्यामा प्रतिनिधित्व हुनुपर्ने अडान लिइरहेका बेला सोही पार्टीका मधेसी कार्यकर्ताले जनसंख्या र भूगोलका आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

भेलामा पोलिटब्यूरो सदस्य तथा धनुषाका सांसद सत्रुघन महतोले संविधान संशोधन र स्थानीय चुनावको सम्बन्ध नभएकाले पहिले चुनाव त्यसपछि संशोधनमा जान सकिने बताएका थिए ।

कांग्रेसका मधेसी नेताहरुले संविधान संशोधन नगरी २ नम्बर प्रदेशमा चुनाव हुन नसक्ने भनिरहेका बेला एमालेका मधेसी नेता कार्यकर्ताले भने चुनावमा जानैैपर्ने अडानमा कायम रहन नेतृत्वलाई सुझाव दिएका हुन् ।

सिराहाका नेता रामअवतार यादवले मधेसी जनता चुनावको पक्षमा रहेकाले मोर्चाकै कारण चुनाव रोक्नुपर्ने अवस्था नरहेको बताए ।

तपाइको मत