एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

१३ असार ०८१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका कूल विद्यार्थीमध्ये ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

यसपटक परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अर्थात् ५२.१४ प्रतिशतले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था रहेको थियो भने विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।