एसईईमा पुनर्योग चित्त नबुझे विद्यार्थीले पुनःपरीक्षण गर्न पाउने

११ साउन ०८१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईका परीक्षार्थी अन्यायमा नपरोस भन्नका लागि पुनर्योग गर्ने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गर्न पाउने सुविधा राखिएको बताएका छन् ।

अध्यक्ष शर्माले एसईई २०८०को पुनर्योगमा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने र त्यसमा पनि चित्त नबुझे पुनः परीक्षण गराउन पाउने बताएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को पुनर्योगको नतिजा क्रमशः सार्वजनिक गरिरहेको छ ।

मानवीय त्रुटि हुनसक्ने भएको भन्दै उनले भने, ‘विद्यार्थी अन्यायमा नपरोस भन्नका लागि पुनर्योग, उत्तरपुस्तिका हेर्ने तथा पुनःपरीक्षण गर्न पाउने सुविधा राखिएको हो ।

उनले राष्ट्रिय परीक्षा बोर्डले २३ साउनदेखि हुने ग्रेडवृद्धि परीक्षा सकिएपछि आवेदन लिने तयारी गरेको बताउँदै एसईईको उत्तरपुस्तिकामा रहेको प्रश्नउत्तर जाँच्न छुटेको, उत्तरपुस्तिकाभित्र रहेको अंक बाहिर चढाउन छुटेको, अंक जोड्दा त्रुटि भएको, भित्रको र बाहिरको अंक रुजु नभएको, परीक्षकले जोडेको अंकभन्दा सम्परीक्षकले फरक अंक चढाएको लगायतका त्रुटि भेटिएको समेत बताए ।