एसपीपीको मुद्दा ओझेलमा पार्न आफूमाथि षड्यन्त्र भएको शर्माको भनाई

२३ असार ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले आफ्नो राजीनामा माग एमालेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को मुद्दा ओझेलमा पार्न गरिएको बताएका छन् ।

बुधबार अर्थमन्त्री पदबाट राजीनामा दिएका नेता शर्माले भोलिपल्ट बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा माओवादी केन्द्रीय समिति बैठकमा बोल्नेक्रममा यस्तो बताएका हुन् ।

एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न षड्यन्त्र भएको बताउँदै भने, “एसपीपीमा राष्ट्रघात भएको मुद्दा ओझेल पार्न यो मुद्दा उठाइएको हो ।”

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको भन्दै शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बुधबार विशेष समिति गठन गरेको छ ।