एसीसी यू-१९ प्रतियोगितामा मलेसियालाई पछि पार्दै नेपाल फाइनलमा प्रवेश

३१ भदौं ०७४, काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई पछि पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ मलेसियामाथि नेपालले १० विकेटको शानदार जित हात पा¥यो ।

शनिबार भएको सेमिफाइनलमा नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो । घरेलु टोलीले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेट क्षतिमा भेट्टायो ।

नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्धय सन्दिप सुनार र आसिफ शेख दुबैले अर्धशतक पुरा गरे । सन्दिप ५७ रनमा अविजित रहे भने आसिफ ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका नलिन डि सिल्भाले ३९ रन बनाए भने भिरनसिप सिंहले २५ रन जोडे ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २९ रन खर्चिएका थिए ।

पवन सरार्फले २ विकेट लिए भने रोहितकुमार पौडेल, साहब आलम र सन्दिप लामिछानेले १-१ विकेट लिए ।

 हङकङले सिंगापुरमाथि ७ विकेटको जित हात

शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरमाथि ७ विकेटको जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको सिंगापुरले सिद्धान्तको ५१ रनको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो, जसलाई हङकङले ४०.२ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ । उसका झाथदेव एसएसले अविजित ५८ रन बनाए ।

फाइनल खेल भोलि नेपाल र हङकङ बीच हुनेछ ।

तपाइको मत