काठमाडौं । ए नेताहरु हो ! सीमानाको बिषयमा तैं चुप मैं चुप, भाग लगाउन तम्सिन्छौ !!
पृथ्वीनारायण शाहको पालादेखि आजको गणतान्त्रिक मुलुकसम्म आईपुग्दा थुप्रै, युद्द, द्वन्द र परिवर्तनात्मक कदमहरु भए । यो इतिहास रच्न केबल एउटा समूहले मात्र सम्भब थिएन । जात, धर्म, प्रदेश भनी खण्डित र बिचलित भएको भए आज इतिहासको पाना पल्टाएर हेर्दा पुर्बमा टिस्टा र पश्चिम्मा काँगड़ा भनी गर्व गर्न सक्ने अबस्था सिर्जना हुदैन्थ्यो । नेपाल भन्ने राज्य भएदेखि नै हाम्रो इतिहास अलौकिक छ । अनेक भाषा, बिभिन्न संस्कृति हाम्रा गहना र पहिचान हुन् । १२५ जातजाति र १२३ भाषाभाषी रहेको यो बिचित्रको फुलबारीले इतिहासमा अमूर्त साइनो जोडेको छ ।
हाल १,४७,१८१ बर्ग की.मि. क्षेत्रफल रहेको हाम्रो मुलुक कति खुम्चियो भन्ने पनि धेरैलाई ज्ञात नै छ तापनि सरोकार राख्नेहरुले वास्तै गरेका छैनन् ३२ वटा राजनैतिक पार्टीका कुल ६०१ सांसद आजसम्म सीमाको सबालमा मौन छन्। तर प्रदेश र सिमांकनले निन्द्रा लागेको छैन। कोहिलाई प्रदेश टुक्राउनै पर्ने कोहि प्रदेश टुक्रियो भने नेपालै सकिन्छ भनेर आन्दोलन गर्ने। आखिर को सही ?? संघीयता के हो र कसरी ल्याईयो ?? संघीयता कुन मोडलमा जारी गरियो ?? बिश्वकै उत्कृष्ट भनिएको संबिधान एक बर्ष नहुदै किन र कसको चाहनामा संसोधन गर्न खोजिदै छ ?? संबिधान संसोधनको मुद्दामा यत्रो हंगामा गर्न सक्ने राजनैतिक दल राष्ट्रिय मुद्दामा किन संबेदनशील छैनन् ?? किन टनकपुरदेखि सुस्तासम्मको मुद्दामा कुनै राजनैतिक दलको आँखा खुल्दैन ??
केही भूभागहरु जसमा नेपाली राजनीति अन्धो भएको छ । यसबारे थोरै अध्ययन गरौं न !
(१) सुस्ता २०२५ सालमा सुस्ता गाविस हुँदा सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर थियो । तर अहिले पटक पटक अतिक्रमण हुदा ७ हजार हेक्टर मात्र बाँकी छ । बीभिन्न समयको भारतीय चरमयातनाबाट सुस्ताबासी आक्रान्त छन् भूगोलको रक्षका लागि हारगुहार गर्दैछन् तर राज्यसंयन्त्र पूरा मौन छ ।
(२) दसजगा : दसजगा क्षेत्रमा पनि अन्तर्राष्ट्रिय सीमा नियमलाई समेत उल्लंघन गरी एसएसबीले केही समयदेखि धमाधम क्याम्प बनाउन थालेको घटना बाहिर आएको छ । अन्तु गाविस वडा नं ८ मा पर्ने छब्बिसे क्षेत्रको करिब २० रोपनीभन्दा बढी नेपाली भूभाग भारतीय पक्षले मिचेको,पशुपतिनगर गाविसमा पर्ने पुलखोलामा पनि नेपाली भूभाग मिचेर क्याम्प खडा गरिएको,भारतीय वन कार्यालयले स्थायी क्याम्प निर्माणका लागि नेपालतर्फको भूभाग मिचेको जस्ता सीमा हस्तछेप हुँदा पनि राज्यलाइ केहि हतारो छैन ।
(३) लिपुलेक : लिपुलेकमा एउटा भज्यांङ छ। १८१६ देखि लिएर हालसम्मका सबै सन्धि सम्झौता तथा मान्यताहरुले लिपुलेक हाम्रो भन्ने कुराहरुले लिपुलेक नेपालकै हो भन्ने सावित हुन्छ । त्यो मार्गबाट चीन र भारतले व्यापार गर्ने र अन्य काम गर्ने सम्झौता भयो। उनीहरुले त्यो सम्झौता लिपुलेक नेपालको हो भन्ने जान्दा जान्दै पनि गरे । यो नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनता विरुद्ध गरिएको कदम हो भन्ने हामी सबैलाई लागेको छ ।
(४) लिम्पियाधुरा : लिपुलेक भन्दा ५३ किलोमिटर पश्चिममा रहेको टिङ्कर लिम्पियाधुरा पनि नेपालको हो भन्ने तथ्यहरुले सावित गरेका छन्। ६४ वटा भन्दा बढी स्थानमा नेपालको सीमाहरुमा समस्या छ भन्ने कुरा विज्ञहरुले नै भनिरहेका छन् ।
अर्को कुरा भर्खर चीनको भ्रमणमा भारतीय प्रधानमन्त्री जाँदा लिपुलेकको विषयलाई लिएर एउटा सम्झौता गरियो । त्यसैगरी पश्चिममा कञ्चनपुरस्थित शारदा, प्रस्तावित पञ्चेश्वर बाँध र टनकपुर बाँधदेखि पूर्वमा कोशी उच्च बाँध यसैवीचमा पर्ने कैलाली र बर्दिया जिल्लालाई प्रभावित गर्ने कैलासपुरी बाँध, बाँकेको लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुको महलिसागर बाँध, रुपन्देहीको खुर्दलोटन बाँध, दण्डा फरेना सिद्धार्थनगर, नवलपरासीको गण्डक बाँध, रौतहटको लालबकैया प्रमुख रहेका छन् जस्काकरण जमीन कटान, पटान र डुवान हुँदै आएको छ।भारत सरकारले एकलौटी ढंगबाट अन्तराष्ट्रिय कानूनको समेत खिल्ली उडाएर बनाएका बाँधहरुका कारण त्यहाँका वासिन्दाहरुको जीवन कष्टकर भएको छ ।
नयाँ संविधानमा भूगोल सम्बन्धी के प्राबधान छ ?
नयाँ संविधानमा स्पष्ट रुपमा नेपालको भूभाग भन्नाले यति वर्ग किलोमिटरको, यहाँदेखि त्यहाँसम्म, पूर्व-पश्चिम, उत्तर-दक्षिण फैलिएको लिपूलेक, सुस्ता कालापानीसहितको भूभाग हो भनी स्पष्ट किटान गर्न रिट निवेदनमा माग गरिएको छ ।
आज लिपुलेकको इतिहास, सुस्ता, कालापानी र दसगजाका पिडाप्रति कसैका आँखा खोलिएनन् हजारौ बर्ग किलोमीटर भारतले हस्तक्षेप गर्दा तैंं चुप मैं चुप हुने महामहिमहरु संघीयतामा हस्ताक्षर गर्दै प्रदेश टुक्रियो भन्दै सडक तताउछन्, कोही देशै मेरो होझै इच्छानुसार सुबिधे भवनमा बसी बाबूकै अंश झै कित्ताकाट गर्छन् अनि नेपाली जनताका छोराछोरी नेपाल आमा भन्दा पार्टी ठुलोझै आँखा चिम्लिएर मेरो र तेरो भन्दै ठाडो निर्देशन पालना गर्छन। पहाडको टुप्पोमा बसेर तराईको पिडाको अबमूल्यन गर्दै कथित रास्ट्रबादको नाममा मधेस पहाड़ र हिमाल देख्नेहरुले तिलाठीका जनताबाट केहि सिकुन् ।
त्यसैले अब आन्दोलनको नाममा देशमा थप आतंक नहोस राष्ट्रियताको सबालमा आँखा खोलेकै हो र नेपालको मायानै गर्छौ भने सुस्ता र दसगजा जाऊ, सीमाका जनताका आँसूको मूल्य सोध र भारतीय बिस्तारबादको बिरुद्दमा बोल तर सींगो नेपालको मनपरी कित्ताकाट गर्ने र सोझा निमुखा जनतालाई दुःख दिने कामले राष्ट्रियता झल्कदैन, इतिहासले पनि सम्झदैन !!
लेखक ‘राजेश्वर कमली‘ चिति, लमजुङ निवासी हुन् ! मनोज चिमरिया क्षेत्रीको फेसबुकबाट ।