ओलीको आक्रोश सत्ताबाट बाहिरिँदाको पीडा मात्रै – देउवा

१६ पुस, बाग्लुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहिलेको आक्रोश सत्ताबाट बाहिरिँदाको पीडा मात्रै भएको बताएका छन् ।

deuba

देउवाले मेलमिलाप दिवसको अवसरमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीको अहिलेको आक्रोश सत्ताबाट बाहिरिँदाको पीडा मात्रै भएको बताएका हुन् ।

सम्बोधनकै क्रममा देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान निर्माणका क्रममा कांग्रेस र एमालेले अघि सारेको नौ बुँदे प्रस्तावतर्फ इङ्कित गर्दै त्यसबेला गाँजा खाएर हस्ताक्षर गरेको हो ? भनेर प्रश्न समेत गरेका छन् ।

५ नम्बर प्रदेशबाट पहाडलाई अलग गराउन कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र केपी ओलीले हस्ताक्षर गरेको बताउँदै देउवाले भने, ‘त्यही सहमति अनुसार संविधान संशोधन गरेर संविधान कार्यान्वयन गर्न खोज्दा एमालेले संसद अवरुद्ध गरेको छ, त्यतिबेला कि गाँजाखाएर हस्ताक्षर गरिएको हो भन्नुपर्‍यो, कि गल्ति गरेँ भन्नुपर्‍यो ।’

एमालेले गरेको संसद अवरोधलाई राष्ट्रिय एकता बिरोधी कार्य भन्दै देउवाले राष्ट्रिय एकता र मेलमिलाप कायम गर्न जुनसुकै हालतमा संविधान संशोधन गराएरै छाड्ने बताए ।

तपाइको मत