२७ साउन ०७५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केही औद्योगिक क्षेत्रमा चार दिनसम्म विद्युत् कटौती हुने जनाएको छ ।
भारतबाट आउने १ सय मेगावाट प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन साउन २८ गते बिहान ९ बजेदेखि बिहीबार ३१ गते साँझ ६ बजेसम्म विद्युत कटौती हुने जनाएको हो ।
यही साउन २८ गते सोमबारदेखि ३१ गते बिहीबारसम्म स्तरोन्नतिका लागि सो प्रसारण लाइनबाट आयात भइरहेको विद्युत् कटौती हुनेछ ।
त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत् दिनमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ ।
कोहलपुरदेखि दुहबीसम्म ग्रीड र वितरण तथा ग्राहक सेवाका सवस्टेसनबाट औद्योगिक फिडरमार्फत विद्युत् आपूर्ति हुने ग्राहकको विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन जडान भएपछि प्रसारण लाइनको समेत क्षमता स्तरोन्नति गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनको क्षमता १३२ केभीबाट स्तरोन्नति गरी २२० केभी बनाइएको थियो । आगामी वर्ष सोही सवस्टेशन ४०० केभीमा रुपान्तरित हुनेछ ।