२१ जेठ ०७५, काठमाडौं । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा नेपाली नागरिक अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ ।
कतारको तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला सुनाएको हो ।
तल्लो अदालतले गरेको फैसलाको विरुद्ध नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
औराही–१, मोहत्तरीका चौधरी कतारी नागरिक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।
घटनाको पूर्ण विवरण बाहिर सार्वजनिक नआएपनि कतारस्थित नेपाली दूतावासले चौधरीको सहमतिमा पुनरावेदन गरिएको जनाएको छ । सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै )३० हजार रियाल, करिव ६ लाख रुपैयाँ राजदूतावासले सरकारसँग माग गरेपछि, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन अनुरोध गरेको छ ।
चौधरी २०१५ अगष्ट २७ गते कतार कार वास कम्पनीमा सामान्य मजदुरको हैसियतमा गएका थिए । उनलाई केन्द्रीय कारगारमा राखिएको छ ।













