कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

२७ साउन ०७५, काठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य रहेका छन् । गठित समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको यथार्थ छानविन गर्नका लागि समिति गठन गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको दिर्घकालीन संचालन र व्यवस्थापनका लागि स्थायी रुपमा भौतिक पुर्वाधारहरु निर्माण गर्न उपयुक्त जग्गा खोजी गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिएको छ । मन्त्रालयले १५ दिनभित्र जग्गाको खोजी गरेर मुख्यमन्त्री समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले जिल्लाहरुमा खारेज भएका सरकारी कार्यालय भवन र जमिन प्रदेश सरकारलाई दिन संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।  प्रवक्ता केसीका अनुसार डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको नाम र केन्द्रमा असहमत भई भूगोल छानविन गरी केन्द्र कायम गर्न माग गरिएको निवेदनको सम्बन्धमा उक्त विषयलाई आवश्यक छानविनका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरेकोे छ ।

तपाइको मत