कलंकी मालपोत कार्यालय ‘नमूना कार्यालय’ घोषणा

४ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन् ।

बुधबार  प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित मालपोत कार्यालयलाई ‘नमूना कार्यालय’ का रुपमा घोषणा गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भूमि व्यवस्थापनलाइ प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने सुरुवात गरिएको बताउँदै भने ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।’

प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड गरिसक्ने बताए । उनले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने पनि बताए ।

अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामबारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिने लगायत व्यवस्था छ ।

तपाइको मत