कलैया उपमहानगर प्रमुखसहित ११ जना धरौटीमा रिहा

अनिल तिवारी/बारा । राहतमा कुहिएको दाल वितरण गरेको भन्दै पक्राउ परेका कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवसहित ११ जना धरौटीमा रिहा भएका छन् ।

बुधबार बेलुका नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन २ लाख ८१ हजार धरौटी बुझाएर रिहा भएका हुन । राहतमा सडेको दाल वितरण गरेपछि दाल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरेको थियो ।

जिल्ला प्रशासनले नगर प्रमुख यादवका काकाका छोरा रोशन भनिने रविन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव, कृष्णप्रसाद यादव, कलैया वडा नम्बर २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नम्बर १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नम्बर ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नम्बर ११ का अध्यक्ष सर्व नारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजन प्रसाद कुर्मी र वडा नम्बरं २६ का महेश साहसँग जनही ६० हजार धरौटी माग गरिएको हो ।

घटनामा संलग्न भनिएका कलैया उपमहानगरपालिका २० का वडा सचिव खेदु मियाँको भने सडेको राहत वितरणमा संलग्नता देखिएको छैन् । मियाँको संलग्नता नदेखिएपछि उनी विरुद्द माग तथा दावी नगरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बुधबार राति धरौटी छाड्ने फैसला सुनाएको हो । बुधबार साँझ ५ बजे बयान सकिएपछि राति ९ बजे निर्णय सुनाइएको थियो ।

नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।

मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिई ६ दिन म्याद थप गरी अनुसन्धान थालेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेको खुलेको र नगरपालिकाको वडा नं. २० बसन्तपुरमा पनि कुहिएको दाल वितरण गरिएपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

गत चैत २९ गते बिहान कोल्ड स्टोसमा छापा मार्दै प्रहरीले २५ किलोको ३ सय ८० बोरा दाल सिलबन्दी गरेको थियो । दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालयमा परीक्षण गराउँदा दाल गुणस्तरहीन प्रमाणित भएको थियो ।