१३ असार, काठमाडौँ । भुकम्प पीडितलाई दुई लाख रुपैयाँ एकमुष्ट दिनु पर्ने माग राख्दै सदनमा अवरोधको राजनीति गर्दै आएको प्रतिपक्ष दल कांग्रेसले सोमबारको बैठक पनि अवरुद्ध पारेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका कारण व्यवस्थापिका–संसद्को सोमबारको बैठक दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको हो ।
संसद्को पहिलो बैठक अवरुद्ध भएपछि बैठक खोल्ने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति हुन नसकेपछि मङ्गलबार अपराह्न ३ः३० बजे बैठक बस्ने गरी सूचना टाँस गरिएको हो ।
काँग्रेसले भूकम्प पीडितलाई सरकारबाट एकमुष्ट २ लाख रुपैयाँ अनुदान दिने प्रतिबद्धता नआएको भन्दै ४ दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
अवरुद्ध संसद् बैठक खोल्न काँग्रेस, एमाले, एमाओवादी सम्मिलत कार्यदल गठन गरिएको र सो कार्यदलको बैठक मङ्गलबार बिहान ८ बजे बस्ने निर्णय गरिएको बुझिएको छ ।