१७ पुस ०७६, कपिलवस्तु । नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध इलाका प्रहरी कार्यालय कृष्णनगरमा ज्यान मार्ने उद्योगको जाहेरी दर्ता भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले कपिलवस्तु –३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित काँग्रेस सांसद शाहविरुद्ध आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनील मल्लका अनुसार शाहविरुद्ध मुद्दा दर्ता भए पनि अदालतबाट पक्राउ अनुमति लिन बाँकी छ । शुक्रबार अदालतको अनुमति लिएपछि पक्राउ गरेर अनुसन्धान गरिने छ ।
गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर सांसद शाहले ज्यान लिने योजना बनाएको मिश्राले दाबी गरेका छन् । सांसद शाहले घरमा बोलाएर गेस्ट रुममा ढोका थुनेर कुटपिट गरेको समेत मिश्राले आरोप लगाएका छन् ।
सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको मिश्राको आरोप छ ।














