कांग्रेसका रामचन्द्र पौडेल समूह, भ्रष्टाचारीलाई चुनाव लड्न दिन नहुने पक्षमा

१८ भदौ ०७४, काठमाडौं । नेपाली कांग्रेस नेता धनराज गुरुङले आफ्नै पार्टीका १९ जना सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने भन्दै हालेको संशोधनको विरोध गरेका छन् ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको रामचन्द्र पौडेल समूहको बैठकले भ्रष्टाचारीलाई चुनाव लड्न दिनु पर्ने संशोधनको पक्षमा उभिन नसक्ने ठहर गरेको हो । सो बैठकपछि नेता गुरुङले सजाय पाएको ३ वर्षपछि भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिनुपर्ने भन्दै आफ्नै पार्टीका १९ जना सांसदले हालेको संंशोधनको विरोध गरेका हुन् ।

पौडेल समूहको बैठकले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने भन्दै परेको संशोधन फिर्ता लिन पार्टी नेतृत्वसँग माग गरेको छ ।

‘यो देश र पार्टीको हितमा छैन । अमुक व्यक्तिको हितमा संशोधन हालिएको छ,’ नेता धनराज गुरुङले भने, ‘यो फिर्ता गर्न माग गरिएको छ ।’

यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक नगर्ने र १९ जनाले राखेको संशोधन नै पार्टीको धारणा जस्तो भएको भन्दै पौडेल समूहले असन्तुष्टि जनाएको छ ।

सरकारले प्रदेश र संसदको चुनावसम्वन्धी कानुनमा भ्रष्टाचारीलाई आजीवन चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ । तर, कांग्रेसका १९ सांसदले सजाय पाएको ३ वर्षपछि चुनाव लड्न दिनुपर्ने भन्दै संंशोधन हालेका छन् ।

तपाइको मत