५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निकाय पुनर्संरचनाको विषयमा छलफल गर्न जिल्ला सभापतिहरुको दुईदिने भेला बोलाएको छ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा हुने भेला आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन गर्दैछन् ।
स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले प्रस्ताव गरेको संख्यामा असन्तुष्ट कांग्रेसले आइतबार जिल्ला सभापतिहरुसँग छलफल गरी आधिकारिक धारणा बनाउन भेला बोलाएको हो ।
राजनीतिक दल र नेताहरूको स्थानीय निकायको पुन:संरचना सम्बन्धी फरक-फरक धारणा बाहिर आइरहेका बेला कांग्रेसले दुई दिन छलफल गर्दैछ ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय तहको संख्या ५६५ प्रस्ताव गरेको छ ।
स्थानीय तह पुन:संरचना आयोगले ७५ जिल्लामा ५ सय ६५ स्थानीय निकाय प्रस्ताव गरेपछि त्यसमा दलहरूको फरकफरक धारणा आएको छ । तर, यो संख्या निकै कम भएको भन्दै बढाउनुपर्ने कांग्रेसको माग छ ।
कांग्रेसले उदघाटन भेला तथा छलफलमा अनिवार्य उपस्थित हुन पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।