काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने तयारी

१७ भदौ ०७७, काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने तयारी गरेको छ ।

मंगलबार बसेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकले निषेधाज्ञाको मोडालिटी केही परिवर्तनसहित थप एकहप्ता लम्ब्याउने तयारी गरेको हो ।

यस विषयमा आज बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा जारी ‘निषेधाज्ञा’ आज राति १२ बजेबाट सकिँदैछ ।