काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी

१० भदौ ०७७, काठमाडौं। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ ।

कोभिड–१९ संक्रमितहरु बढ्नेक्रम जारी रहेपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि मंगलबार भएको तीनै जिल्लाका प्रजिअहरुको छलफलले थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता तुल्सीराम पौडेलले एक हप्ता निषेधाज्ञा थप गर्ने विषयमा छलफल भए पनि निर्णय भइनसकेको बताए । यद्यपि, उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले जारी निषेधाज्ञालाई एकहप्ता निरन्तराता दिन सिफारिस गरेको थियो ।

यही भदौ ३ गते मध्यरातदेखि उपत्यकामा जारी गरिएको निषेधाज्ञा आज बुधबार १२ बजे अन्त्य हुँदैछ ।