२६ कार्तिक ०७५, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर चीन प्रस्थान गरेका छन् ।
चीनको हुआन सहरमा नोभेम्बर १४ देखि १६ सम्म हुने ‘चाइना इन्टरनेशनल फ्रेण्डशीप सिटिज कन्फरेन्स २०१८’ भाग लिन महानगर प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।
‘विकासका अवसर र आपसी साझा जीत (सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन’ विषयमा केन्द्रीत सम्मेलनमा चीनका सहरहरुसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र संघ संस्थाबाट प्रतिनिधित्व हुँदैछ ।
चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेण्डशीप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसी), चाइना इन्टरनेशनल फ्रेण्डशीप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले सम्मेलनको आयोजना गरेका हुन् ।
युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट (युसिएलजि) का सदस्यहरुसमेत सम्मेलनमा भाग लिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताइएको छ ।
सम्मेलनमा ल्हासा नगरले काठमाडौं महानगरलाई ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डशीप सिटी अफ टिवेट अटोनोमस अवार्ड’ का लागि मनोनयन गरेको छ । महानगरलाई सम्मेलनमा भाग लिन ल्हासा नगरले निमन्त्रणा गरेको जनाइएको छ ।
कार्यक्रम तालिका अनुसार प्रमुख शाक्य नेतृत्वको प्रतिनिधि मण्डल आज छेन्दु पुग्नेछ । भोलि ल्हासा नगरका उपप्रमुखसँग छेन्दुमा भेट गरी दुवै नगरका प्रतिनिधि मण्डल हुआन प्रस्थान गर्नेछन् । बुधबार, विहीबार र शुक्रबार सम्मेलनमा सहभागी भएर प्रमुख शाक्यसहितको टोली शनिबार स्वदेश र्फकनेछ ।
महानगरका नियमित काम हेर्न भने उमेर जेष्ठताका आधारमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।