८ साउन ०७५, काठमाडौं । कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।
आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले मन्त्रालयमा दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा पत्र बुझाउने बताए ।
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् ।
मन्त्री तामाङले आफू पद भन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएको समेत स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा मन्त्री तामाङले गुनासो गर्दै आफ्नो भनाइलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरि आफ्नो विरोधमा केही तत्व पछाडि लागेकाले काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए ।
मन्त्री तामाङले वर्तमान सरकारको समृद्धि नेपाल र सुखी नेपालीको नारामार्फत देश विकासको पूर्वाधार खडा गर्ने काममा आफू प्रतिबद्धता रहेको बताए ।