७ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालत बार इकाइले सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको सम्मानमा गरेको कार्यक्रममा कानून व्यवसायीहरु पेशा भन्दा राजनीतिमा बढी केन्द्रीत भएको बताएकी छन् ।
मंगलबार प्रधानन्यायाधीश कार्कीले विद्धान कानून व्यवसायीहरुले वकालतको क्षेत्रमा कम मिहेनत गर्न थालेकाले उदाहरणीय फैसलाहरु हुन नसकेको भन्दै कानुन व्यवसायीहरु पेशामा भन्दा राजनीतिमा बढी ध्यान दिएका कारण त्यसको असर फैसलामा परेको बताइन् ।
न्याय सम्पादनका क्रममा हुने कमजोरी सच्याउन सर्वोच्च तयार रहेको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले न्यायाधीशको एक्लो प्रयासले मात्र न्याय सम्पादन हुन नसक्ने भन्दै कानून व्यवसायीहरुलाई अध्ययनमा ध्यान दिन आग्रह गरिन् ।
सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिने आधार के हो ? भनेर सर्वोच्च बार इकाइका अध्यक्ष शैलेन्द्रकुमार दाहालले प्रधानन्यायाधीश कार्कीलाई प्रश्न गर्दै राजनीतिक पार्टीसँग जोडिंदा माथिल्लो पद चाँडै पाइने उदाहरण न्यायाधीश नियुक्तिबाट पुष्टि भइसकेको भन्दै कानून व्यवसायीले राजनीति गर्नुलाई अन्यथा रुपमा लिन नहुने बताए ।