कार्यालय सहयोगी : मृत्यु भएको व्यक्तिको पेन्सन झिकेको आरोपमा पक्राउ

३ फागुन ०८०, काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेको छ ।

वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।

प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।