३० साउन, कालिकोट । जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ का सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले गएराति नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको जनाएको छ ।
पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको बताइएको छ ।
प्रहरीले मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
यस्तै शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले दर्जन बढी घर पुरिएको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ ।
जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले १५ जना भने पहिरोबाट निस्किएर लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका बताएका छन् ।