२० असार०७५, राजविराज । मालपोत कार्यालय सप्तरीबाट जग्गाधनीलाई थाहै नदिई किर्ते कागज गराई नम्वरी जग्गा बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीेले सार्वजनिक गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका ११ फर्सैठ वस्ने ७४ वर्षीय वृद्ध फुदन साहलाई प्रहरीले सोमवार पक्राउ गरी अनुसन्धानपछि वुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
साहले राजविराज नगरपालिका ६ घर भई काम विशेषले अमेरीका गएका उषा अर्यालको स्वामित्वमा रहेको ३ कठ्ठा ९ धुर जग्गा साहले ९ पौष २०७४ मा किर्ते कागजात तयार गरी आफनो नाममा पास गरी एक सातापछि सोही जग्गा स्थानीय २ का महिलालाई बिक्री गरेका थिए ।
पत्रकार सम्मेलनमा डिएसपी भावेश रिमालले जग्गा किन्ने महिलालाई पनि अनुसन्धान सुरु गरिएकोले तत्काल नाम ठेगाना खोल्न नमिल्ने बताए ।
साहले किर्ते गरी आफनो नाममा ल्याएको अर्यालको कित्ता नं. ३५२ को २ कठ्ठा ९ धुर जग्गा २ जना महिलालाई बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले बताए ।
अर्यालको नामवाट साहको र साहको नामवाट २ जना महिलाको नाममा किर्ते कागजात तयार गरी लिखत पास भएको र त्यसपछि सोहि कागजातको आधारमा मालपोत कार्यालयवाट रजिष्ट्रेसन पास भएको पाईएकोले यसमा मालपोत कार्यालयका कर्मचारीको पनि मिलेमतो हुन सक्ने भएकाले असन्धान भईरहेको बताए ।
अमेरीकाबाट फर्केपछि जग्गाका मुलधनी अर्यालले छरछिमेकीबाट आफ्नो जग्गा बेची सकेको जानकारी पाएपछि तत्कालै मालपोत कार्यालय गएर बुझ्दा उक्त जग्गा फर्सैठका साह र त्यसपछि २ जना महिलाको नाममा दर्ता भईसकेको थाहा पाएका थिए ।
घटना थापा पाउन बित्तिकै अर्यालले प्रहरीमा रिपोट गरी मालपोतकै कर्मचारीको मिलेमतोमा आफनो नामको जग्गाको किर्ते कागजात बनाई बिक्री भएको भन्दै तिनीहरुलाई पनि कानुनी दायरामा ल्याउन पुर्ने माग गरेकी छिन् ।
साहले भुमाफिया र मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा यसअघि ७ जेठ २०७१ सालमा पनि जग्गाधनी राजगढ गाउँपालिका ३ का रामकेवल यादवलाई थाहै नदिई १३ कठ्ठा १ धुर जग्गा बिक्री गरेका थिए ।
पक्राउ परेका साहलाई सरकारी कागज किर्ते शीर्षकमा सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि वढाईएको डिएसपी रिमालले जानकारी दिए ।
अरुको जग्गा बेच्दै पैसा कमाउने नियतले मालपोतका केही कर्मचारी र केही बाहिरी ब्यक्तिको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरेर बिक्री गर्ने गिरोह नै सक्रिय भएको भन्दै सथानीयले यसको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।













