१६ मंसिर ०७६, सप्तरी । राजविराज नगरपालिका ७ निवासी १६ वर्षीया गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अपहरणमा परेको भनिएकी बालिकाका दाजु गोपाल साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
तोडफोड गरेको आरोपमा साहसँगै सोही वडा निवासी जय साह र राहुल रजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको आरोप छ ।
प्राप्त घटना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षीया छोरी गौरी गत शनिबारदेखि बेपत्ता छिन् ।
परिवारजनले ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा कार्यरत राजविराज ७ निवासी विकास कर्णसहित तीन जना मिलेर गौरीको अपहरण गरेको दाबी गरेका छन् ।
यसबारे केटीका ठूलो बुबा राघवेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी समेत दिएका छन् । तर, तीन दिन बित्नसमेत आरोपीहरुलाई प्रहरीले पक्राउ नगरेपछि आक्रोशित आफन्तजन प्रदर्शनमा उत्रेका हुन् ।
उनीहरुले किशोरी अपहरण गर्नेलाई अबिलम्ब पक्राउ गर्न माग गरेका छन् । प्रहरीले भने अपहरण भन्दा पनि यो विषय प्रेम प्रसङसँग जोडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ ।
यो अपहरण नै हो भन्न सकिने अवस्था छैन्, प्रेम प्रसङसँग जोडिएको अवस्था पनि देखिएको छ, डिएसपी तिलक भारतीले भने, “यद्यपि दुबै कोणबाट हाम्रो अनुसन्धान अघि बढेको छ ।”
उनले किशोरी भगाउने केटा कर्णको खोजी कार्य तीब्र बनाइएको भन्दै आक्रोशमा आएर कानुन हातमा लिने काम कसैले गर्न नहुने बताएका छन् ।
विवाहसम्बन्धी नयाँ कानुनअनुसार २० वर्ष पूरा नभएसम्म वैधानिक विवाह गर्न नपाउने व्यवस्था भएकाले आफूखुशी भागेर बिहे गर्ने उमेर नपुगेका केटा–केटीका अभिभावकहरुले कानुनी आधार लिँदै एकअर्काको परिवारबिरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्तकरणी लगायतका मुद्दा दर्ता गराउन खोजेपछि प्रहरी प्रशासनले समेत तनाब झेल्नु पर्ने परिस्थिति उत्पन्न हुने गरेको एकथरिको भनाइ छ ।














