१० असार ०७७, सप्तरी । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त कुमार मिश्रले किसानहरु कृषिमा निर्भर हुन नसकेको बताएका छन् ।
मंगलबार आँप ब्लकस्तरीय संचालक समिति कञ्चनरुप १२ रुपनगरको आयोजनामा दुई दिने उन्नत आँप खेती प्रविधि सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा मिश्रले यस्तो बताएका हुन् ।
यहाँका किसानहरुलाई प्रत्येक वर्ष नगरपालिकाले सहुलियतस्वरुप दिँदै आएको बोटविरुवा तथा बिऊ बिजन समेत लिन नआएको भन्दै उनले “किसानहरु खेती गर्न लज्जित हुन्छन्, आफूले लगाएको बाली बजारीकरण गर्न समेत लजाउँछन् ।”
आँप समूहका सम्पूर्ण सदस्यहरु सहभागी रहने उक्त तालिममा १२ नम्बर वडा अध्यक्ष देवी बहादुर खत्री, समाजसेवी जित बहादुर श्रेष्ठ, संचारकर्मी डम्बर राई लगायतले मन्तव्य राखेका थिए ।
रुपनगर आँप उत्पादक कृषक समूहका अध्यक्ष तीर्थराज उपाध्यायको अध्यक्षतामा उद्घाटित तालिममा समिति सचिव हरीनारयाण साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संञ्चालन सरस्वती निरौंलाले गरेकी थिइन् ।