१२ बैशाख, काठमाडौं । सरकारले चिनियाँ राजदूत उ चुन्ताईसहित काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिसम्मले सरकारलाई कुनै जानकारी नगराई मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेकोमा सचेत गराएको छ ।
मधेसी मोर्चाका नेताहरुले शुक्रबार चीनका राजदूतसहित अधिकांश देशका कुटनीतिज्ञलाई राजधानीको एक होटलमा बोलाएका थिए । कुटनीतिज्ञले सरकारको अनुमति विना आन्दोलनकारीसँग भेट गरेपछि शुक्रबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मधेसी मोर्चाका नेताहरुसँग सरकारको जानकारी बिना राजदूतहरुले भेट्नु कुटनीतिक मर्यादा र भियना महासन्धिविपरित रहेको भन्दै उनीहरुलाई सचेत गराएको हो ।
विभिन्न देशका कुटनीतिज्ञहरुले मोर्चाका नेता भेट्दा असन्तुष्टि जनाएको सरकार नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले मोर्चाका नेताहरुलाई लैनचौरमा पटक–पटक भेला गरेर निर्देशन दिँदा भने मौन बसेको देखिन्छ । भारतीय राजदूत ‘ रे’ को सन्दर्भमा स्थानीय नागरिक र सत्तारुढ दलकै नेताहरुले ‘रे’लाई फिर्ता पठाउन माग गरेपनि सरकार डराए जसरी बसेको अवस्था छ ।