२१ भदौ ०७८, काठमाडौं । तीन विद्यार्थी संगठनले कुनैपनि विदेशी सहयोग जबर्जस्ती लादिने विषय होइन् भन्दै सरकारलाई अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन भनेको छ ।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेसइतरका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली र अखिल (छैठौं)का बिमल पोखरेलले सोमबार विज्ञप्ति जारी गरेर एमसीसी अघि नबढाउन भनेको हो ।
“सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,” संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ । कुनैपनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ ।”
“एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ,” विज्ञप्तिमा उल्लेख छ, “जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं ।”