२३ चैत ०७५, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले कृषकलाई व्यवसायमा हौसला बढाउन तरकारी ढुवानीमा अनुदान दिन थालेको छ ।
स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको हो ।
पाँच सय किलोभन्दा बढी अन्यत्र बजारमा लगेर तरकारी बिक्री गर्ने कृषकलाई दूरी हेरेर बढीमा प्रतिकिलो रु दुई ढुवानी खर्च प्रदान गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले बताए । उनका अनुसार, गत वर्ष मात्रै ४० हजार किलो तरकारी अन्यत्र बजारमा ढुवानी गरेबापत कृषकलाई रु ५९ हजार २०० रकम ढुवानी अनुदान प्रदान गरिएको थियो ।
ढुवानी अनुदानका लागि कृषि शाखामा पहिले नै आफ्नो तरकारी बाली, कहाँ ढुवानी गर्ने, कति ढुवानी गर्ने सबै अभिलेख पेश गरेर मात्र कृषकलाई ढुवानी अनुदान उपलब्ध गराइएको छ । तरकारी ढुवानी अनुदानका लागि गाउँपालिकाले गत वर्ष र यस वर्ष रु एकरएक लाख रकम विनियोजन गरेको छ ।