१२ जेठ ०७४, काठमाडौं । माओवादी निकट पत्रकारहरुले पत्रकार एवम् साहित्यकार शहीद कृष्ण सेन ‘इच्छुक’को १५ औं स्मृति दिवस संयुक्त रुपमा कार्यक्रम गरेर मनाउने भएका छन् ।
कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीले संयुक्त रुपमा मनाउने भएका हुन् ।
‘हामी हिजो पनि सँगै थियौँ, आज पनि सेनले देखाएको बाटोमै छौँ,’ प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले भने, ‘त्यसैले जेठ १३ गते शनिबार सेन स्मृति दिवस संयुक्त रुपमा मनाउँदै छौं ।’
बुधबार बसेको प्रेस सेन्टरको सचिवालय बैठकले सेन स्मृति दिवस संयुक्त रुपमा मनाउन अन्य संगठनहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।
कृष्ण सेन स्मृति पुरस्कार बेपत्ता पत्रकार श्रेष्ठको सम्मानमा
प्रेस सेन्टर, नेपालले यस वर्ष प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाट बेपत्ता कलम–योद्धा सिन्धुली पोष्ट साप्ताहिकका तत्कालिन सम्पादक चित्रनारायण श्रेष्ठको सम्मानमा प्रदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पुरस्कार छनौट समितिको बैठकले बेपत्ता कलम–योद्धा चित्रनारायण श्रेष्ठका लागि उनकी जीवनसङ्गीनी सावित्रा श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनौट समितिका संयोजक ओम शर्माले जानकारी दिए ।
कमलामाई–९, ढुंग्रेबास (साविक), सिन्धुली निवासी सिन्धुली पोष्ट साप्ताहिकका तत्कालीन सम्पादक श्रेष्ठलाई प्रहरीले २०५७ जेठ १७ गते सर्लाहीको हरीवनबाट गिरफ्तार गरेको थियो । उनी हालसम्म बेपत्ता छन् ।
सेन्टरले कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा हरेक वर्ष जेठ १३ गते आयोजना हुने कार्यक्रममा “कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार” प्रदान गर्दै आइरहेको छ ।
प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा ‘जुगल’का अनुसार शनिबार विहान ६:३० बजे नयाँ बानेश्वरबाट सुरु हुने प्रभातफेरी माइतीघर मण्डला पुगेर कोणसभा परिणत हुनेछ । र, त्यही कोणसभामार्फत् सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७४ प्रदान गरिनेछ ।