केरुङ–काठमाडौं रेल : छलफलका लागि नेपाली प्रतिनिधि चीनमा

काठमाडौं । केरुङबाट रसुवागढी हुँदै काठमाडौं ल्याउने रेलको मोडालिटी तयार गर्न नेपाली प्रतिनिधिमण्डल चीन गएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा सात सदस्यीय टोली शनिबार चीन प्रस्थान गरेको हो ।

सिगात्से आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा चीनले नै केरुङसम्म विस्तार गर्दै छ । छलफलपछि सोही रेल केरुङबाट रसुवाढी हुँदै करिब ७५ किमिको रेलमार्गबाट काठमाडौं जोड्ने नेपाली पक्षले प्रक्रिया अघि बढाउनेछ । चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी–पोखरा पु¥याउने विषयमा छलफल गर्न रेल विभागमा महानिर्देशक अनन्त आचार्य, सिनिसयर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय, मन्त्रालयका दुई सहसचिव र परराष्ट्र मन्त्रालयका एक प्रतिनिधि चीन गएका छन् ।

चिनियाँ रेललाई काठमाडौं ल्याउने विषयमा छलफल गर्ने गरी एक साताको कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चीनले यसअघि प्रारम्भिक सम्भाव्यता अध्ययनबाट रेलमार्ग निर्माण सम्भव भएको देखाइसकेको छ ।

गत साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नै रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिदिने विषयमा सम्झौता गरेका थिए । ‘सोही सम्झौताअनुसार अब कसरी चिनियाँ रेल काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुनेछ’, चीन प्रस्थानअघि सचिव अधिकारीले भने, ‘छलफलले निर्माणको मोडालिटी तय गर्नेछ। आर्थिक व्यवस्थापन र निर्माणपछि सञ्चालनसहितका विषयमा छलफल गर्नेछौं ।’

सचिव अधिकारीका अनुसार चीनले केरुङसम्म ल्याएको रेललाई पहिले काठमाडौंसँग जोड्ने विषयमा छलफल हुनेछ । चीनले पनि यसअघि केरुङ काठमाडौंको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर ६९ अर्ब रुपैयाँको लागत अनुमानसमेत सार्वजनिक गरिसकेको छ । ‘हामीले पनि चिनियाँ रेलको आर्थिक तथा प्राविधिक विषयमा नै केन्द्रित रहेर छलफल गर्ने गरी कार्यसूची तयार पारेका छौ’, सचिव अधिकारीले भने ।

चीनले सिगात्से–केरुङ करिब साढे पाँच सय किलोमिटर रेल मार्ग विस्तार गर्न बाँकी छ । चीनले केरुङसम्म यो रेलमार्गलाई ल्याएपछि यो मार्गलाई नेपालको रसुवागढी हुँदै काठमाडौंसम्म ल्याउने प्रक्रियालाई अगाडि बढाउन नेपाल सरकार तयार रहेको छ । नेपालमा चिनियाँ टोलीको चासो देखिएको हो तर कुनै पनि मोडालिटी भने अहिलेसम्म तय भएको छैन ।

चिनियाँ रेल केरुङबाट काठमाडौं ल्याउने यसैलाई नौ सय ४५ किमि दूरीको मेची–महाकाली रेलमार्गसँग जोड्ने योजना रहेको रेल विभागले जनाएको छ । हाल खण्डगत रूपमा निर्माण प्रक्रिया अगाडि बढेको नौ सय ४५ किमिको पूर्वपश्चिम रेलमार्ग आगामी पाँच वर्षमा अधिकांश खण्ड निर्माण भइसक्नेछ । चिनियाँ रेल आउने पनि पाँच वर्षअघि नआउने जानकारी रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायले भने, ‘चीनले नेपाललाई ग्रिन सिग्नल दिइसकेको छ । अब अगाडि बढ्ने पालो हाम्रो हो। चिनियाँ रेल काठमाडौं आएपछि यही मार्गको प्रयोग गरेर नेपाल अन्तर्राष्ट्रिय रेलमार्गको सञ्जालमा जोडिनेछ। चिनियाँ सहयोग लिने र नेपालमा चिनियाँ रेल ल्याउने भनेर सरकारले निर्णय गरेको पाँच वर्षमा नै उल्लेख्य काम हुन सक्ने अवस्था छ ।’

चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको पूर्वाधार बनाउन लाग्ने लागतको मात्र अध्ययन गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छ । यसमा गुड्ने रेल भने नेपालले किन्नुपर्ने हुन्छ । भौगोलिक रूपमा कठिन देखिएको केरुङ–काठमाडौं रेलमार्ग सम्भव भएपछि काठमाडौं–पोखरा–लुम्बिनी तुलनात्मक रूपमै सहज हुने रेल विभागको भनाइ  छ ।

तपाइको मत