कोदोको रक्सी ब्राण्डिङ गर्ने सामाजिक विकास मन्त्री राईको भनाई

२३ असार ०७८, विराटनगर । प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताएकी छन् ।

बुधबार प्रदेशसभामा बोल्ने क्रममा मन्त्री राईले तामाको भाडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी ब्राण्डिङ गर्ने बताएकी हुन् ।

प्रदेश सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले राष्ट्रियता बोकेको कोदोको रक्सी उत्पादन गर्न गइरहेको र रक्सीलाई ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्ने बताइन् ।

‘रक्सी, जब अन्तर्राष्ट्रिय रुपमा हामीले बेच्ने कुरा गर्दैछौं भने यसले राष्ट्रियताको सवाल राख्छ,’ मन्त्री राईले भनिन्, ‘राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ? हामी त्यो उत्पादन गर्न गइरहेका छौं ।’

उनले हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई वैज्ञानिकरण गर्न गइरहेको बताउँदै भनिन्, ‘अब तामाकै भाडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी बनाउछौँ ।’