९ असार ०७७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘कोभिड–१९ अपरेसनल गाइडलाइन वीथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ सार्वजनिक गरेका छन् ।
नेपाल पर्यटन बोर्डका सिइओ डा.धनन्जय रेग्मीले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरुसँगको परामर्शमा तयार पारेको कोभिड–१९ अपरेसनल गाइडलाइन पर्यटनमन्त्री भट्टराईले सोमबार सार्वजनिक गरेका हुन् ।
नेपाल पर्यटन बोर्डले कोरोनाको संक्रमित बढ्दै गरेको बेला पर्यटन क्षेत्रलाई सुरक्षित रुपमा खुला गर्ने सम्बन्धमा सो गाइडलाइन बनाएको हो ।
यस गाइडलाइनले पर्यटन क्षेत्रलाई खोल्दा के कस्ता स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु अपनाउने भन्ने बिस्तृतमा उल्लेख गरेको छ ।
गाइडलाइन अनुसार होटलहरुमा प्रवेश गर्ने बेलामा सुरक्षित कपडा लगाएका व्यक्तिले पाहुना, कर्मचारी तथा जो सुकैको ज्वरो नाप्ने, ठूला होटलहरुले पाहुना, कर्मचारी तथा लगेजका लागि स्यानिटाइजर टनेल बनाउनु पर्ने, मास्क अनिवार्य रुपमा लगाउनु पर्ने, पाहुनाको ३० दिनको यात्रा इतिहास र अर्को गन्तव्यको बारेमा जानकारी लिनु पर्नेछ ।
यस्तै अंगालो मार्न, हात मिलाउन पाइने छैन् भने खाना खाना जाँदा रेष्टुरेन्ट पस्ने ठाउँमै हातलाई डिस्इन्फेक्ट गर्नुपर्ने छ । बफेट खानाको व्यवस्था हुने छैन् ।
त्यसैगरी खाना बस्दा दश स्क्वेर मिटरको क्षेत्रमा सकेसम्म चार जना मात्र बस्ने व्यवस्था मिलाउनु पर्नेछ । एक कुर्चीबाट अर्को कुर्चीको दुरी कम्तीमा एक मिटरको हुनुपर्नेछ । टेबलपोस र बस्ने स्थानमा पुछ्न सजिलो हुने खालको लेदर तथा प्लाष्टिक राख्नुपर्नेछ ।
पाहुन चेक आउट भएपछि डीप क्लिनिंग गर्ने र २४ घण्टा कोठा बन्द राख्ने । होटलले केही कोठालाई आइसोलेसन रुमको रुपमा राख्नु पर्ने र आशंकित संक्रमितलाई गएपछि पुरै स्यानिटाइज गरेपछि ७५ घण्टासम्म खाली राख्नु पर्ने लगायतका विषयवस्तु गाइड लाइनमा उल्लेख छ ।
पदयात्रामा रहेकाहरुले गाउँघरमा बालबच्चाहरुलाई चकलेट या अन्य चिजहरु दिन नपाइने, अन्य पदयात्रा समूह वा स्थानीयहरुबाट टाढा रहनु पर्ने पनि गाइडलाइनमा उल्लेख छ ।