कोभिड–१९ उपचार कोषमा एक अर्ब बढी रकम जम्मा

२१ चैत ०७६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्ब बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममै १ अर्ब बढी रकम उक्त कोषमा जम्मा भएको हो ।

कोभिड–१९ उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ, नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ र नेपाल दूर सञ्चार कम्पनी लिमिटेडले १२ करोड रुपैयाँ जम्मा गरेको छ ।

यसैगरी बिमा समितिले ५ करोड, बिमा समितिले ५ करोड, नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख, नेपाल धितोपत्र बोर्डले ३ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ करोड, नागरिक लगानी कोषले २ करोड, राष्ट्रिय बाणिज्य बैंकले १ करोड ८५ लाख, क्लियरिङ र डिपोजिट कम्पनीले १ करोड ३५ लाख, राष्ट्रिय बिमा संस्थानले १ करोड, नेपाल फेडफरवार्डस एसोसिएसनले ७ लाख ६ हजार १०१ रुपैयाँ जम्मा गरेको छ ।

उक्त कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले कोष खडा गर्ने वित्तिकै रु ५० करोड राखिएको जानकारी दिँदै मन्त्रिपरिषद्ले मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णयअनुसार चैत महिनाको रकमबाट स्वतः कट्टी हुने बताए ।

अर्थमन्त्री खतिवडाले कोष सञ्चालनसम्बन्धी कार्य बनिसकेको भन्दै पारदर्शी ढंगले कोषको रकम प्रयोग हुने जानकारी दिए ।

कोषको कार्यविधि अनुसार कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचारमा उक्त रकम खर्च हुनेछ ।

अर्थमन्त्री खतिवडाले खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाट हुने साथै अर्थ मन्त्रालयले आदेश दिएपछि मात्र महालेखा नियन्त्रकको कार्यालयबाट रकम निकासा हुने पनि बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरानाविरुद्ध लड्न अहिले राष्ट्र संकटमा परेकाले जनताले राष्ट्रलाई सहयोग गर्नुपर्ने बताए ।