१४ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि सरकारले तोकेभन्दा बढी शुल्क लिने प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई कारवाही गर्न पत्राचार गरिएको जानकारी दिए ।
केही निजी प्रयोगशाला र अस्पतालले पिसिआर परीक्षण शुल्क सरकारले निर्धारण गरेको २ हजार रुपैयाँ भन्दा बढी लिँदै आएको गुनासो बढेपछि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई वढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको भन्दै सहप्रवक्ता अधिकारीले स्टार, ह्याम्स, वि एण्ड वि, नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेको गुनासो आएको जानकारी दिए ।